नुवाकोट । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र पीडितहरूको पुनःस्थापनाका विषयमा स्थानीय जनप्रतिनिधिहरूसँग छलफल गरेकी छन्। बिहीबार नुवाकोट पुगेर मन्त्री रावलले विदुर र बेलकोटगढी नगरपालिकाका बाढी प्रभावित नागरिकहरूको अवस्था, राहत तथा पुनस्र्थापनाबारे प्रत्यक्ष जानकारी लिएकी हुन्।
मन्त्री रावलले विदुर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै एवं संयुक्त छलफल गरेकी छन्। छलफलका क्रममा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनस्र्थापना र भूमिहीन बाढीपीडितहरूको दीर्घकालीन व्यवस्थापनका विषयमा गहन परामर्श भएको छ।
छलफलका क्रममा मन्त्री रावलले बाढी प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन तथा पुनःस्थापनाका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्। तत्कालीन राहत उपलब्ध गराउनेसँगै प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको उनले बताइन्।
यसैबिच, मन्त्री रावलले बाढीका कारण विस्थापित भई हाल होल्डिङ सेन्टरमा बसोबास गरिरहेका व्यक्तिहरूको यकिन विवरण र तथ्याङ्क यथाशीघ्र सङ्घीय मन्त्रालयमा उपलब्ध गराइदिन सम्बन्धित स्थानीय तहहरूलाई अनुरोध गरेकी छन्।