काठमाडौं । नेकपा एमालेकी सांसद एशोदा बरालले विपद्का बेला सरकारले उद्धार तथा राहतमा देखाएको ढिलाइप्रति असन्तुष्टि जनाएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद्को समयमा नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो जिम्मेवारी हुनुपर्ने बताइन्। उनले जलविद्युत् आयोजनाका सुरुङभित्र अझै केही व्यक्ति जीवित रहेको सम्भावना रहेकाले खोजी र उद्धारमा कुनै ढिलाइ गर्न नहुनेमा जोड दिइन्।सुरुङभित्र मानिस बस्न मिल्ने संरचना रहेको जानकारी आफूले प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरूबाट पाएको भन्दै बरालले उपलब्ध सबै प्रविधि र स्रोतसाधन प्रयोग गरेर उद्धार गर्न सरकारसँग माग गरिन्।उनले राहत वितरणका लागि लागू गरिएको एकद्वार प्रणालीका कारण प्रभावित नागरिकले समयमै सहयोग पाउन नसकेको आरोप पनि लगाइन्। कतिपय पीडितले खाना र बस्ने ठाउँको समेत अभाव झेलिरहेको भन्दै उनले सरकारलाई प्रक्रिया र औपचारिकताभन्दा नागरिकको जीवनलाई प्राथमिकतामा राख्न आग्रह गरिन्।सास भेटिने आशा पनि बाँकी छ, शव पनि भेटिएको छैन, तर बस्ने ठाउँसमेत छैन’ भन्ने अवस्थाका परिवारको पीडा बुझेर सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।