काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा प्राविधिक तथा भौगोलिक कठिनाइ देखिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।
बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीसँगै सुरुङभित्र ठूलो मात्रामा लेदो र माटो पसेकाले उद्धार कार्य निकै जटिल बनेको जानकारी दिए। सुरुङमा जमेको हिलोमा उद्धार उपकरणसमेत सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ।उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। साथै भारत, चीन र दक्षिण कोरियाका प्राविधिक टोलीसँग समेत समन्वय भइरहेको प्रधानमन्त्रीले बताए। मौसम अनुकूल भएपछि तथा सुरुङभित्रको अवस्था केही सुरक्षित बनेपछि थप प्रभावकारी रूपमा उद्धार अघि बढाउने प्राविधिक सुझाव आएको उनले जानकारी दिए।प्रधानमन्त्री शाहले उद्धारमा ढिलाइ भएको भन्दै आएका गुनासोप्रति सरकार गम्भीर रहेको बताए। कठिन परिस्थितिमा काम गरिरहेका सुरक्षाकर्मी तथा प्राविधिकलाई सहयोग र हौसला दिन उनले आग्रह गरे।बाढीबाट भोटेकोशी–त्रिशूली करिडोरका सञ्चालनमा रहेका आठ र निर्माणाधीन चार जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको सरकारको प्रारम्भिक विवरण छ। उनका अनुसार सञ्चालनमा रहेका आयोजनामा २ सय ८१ मेगावाट र निर्माणाधीन आयोजनामा ३ सय ८८ मेगावाट क्षति पुगेको छ भने बाढीका कारण कुल ४ हजार ३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।विद्युत् सेवातर्फ नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत क्षेत्रमा सेवा पुनः सञ्चालनमा आएको प्रधानमन्त्रीले संसद्लाई जानकारी दिए।