काठमाडौं । युक्रेनको राजधानी किभ तथा आसपासका क्षेत्रमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ।
घटनामा दुई बालबालिकासहित १७ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।मंगलबार राति भएको आक्रमणका क्रममा किभस्थित सरकारी रेल कम्पनी उक्रजालिज्नित्स्याको डिपोसमेत निशानामा परेको थियो। उक्त घटनामा रेल कम्पनीमा कार्यरत ६ जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।किभनजिकै रहेको बोरिस्पिल सहरमा पनि आक्रमणबाट थप चार जनाको मृत्यु भएको जनाइएको छ।किभका मेयर भिताली क्लिच्कोका अनुसार हवाई आक्रमणपछि राजधानीका कम्तीमा तीन जिल्लामा आगलागी भएको थियो। आक्रमणका कारण आवासीय भवनसहित सर्वसाधारणले प्रयोग गर्ने विभिन्न पूर्वाधारमा क्षति पुगेको उनले बताएका छन्।स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम अघि बढाएको जनाएको छ। आक्रमणपछि सुरक्षा सतर्कता बढाउँदै प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा राहत कार्य सञ्चालन भइरहेको छ।