काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनलाई नेपाली सेनाले थप तीव्र बनाएको छ।
उद्धार तथा शव खोजीमा ढिलाइ भइरहेको भन्दै सर्वसाधारणबाट गुनासो बढेपछि सेनाले थप जनशक्ति परिचालन गरेको हो।शुक्रबार मात्रै रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्रमा १ हजार २ सय सैनिक थप खटाइएको नेपाली सेनाले जनाएको छ। बाढीले बगाएर ल्याएका शव तथा बेपत्ता व्यक्तिको सम्भावित स्थान पहिचान गरी खोजी गर्न विभिन्न टोली बनाएर परिचालन गरिएको छ।सेनाका टोलीहरूले बाढी प्रभावित क्षेत्रसँगै त्रिशूली र नारायणी नदीको किनार तथा आसपासका सम्भावित स्थानमा खोजी गरिरहेका छन्। कठिन भौगोलिक अवस्था र नदीको तीव्र बहावका बाबजुद खोजी तथा शव संकलनलाई प्राथमिकतामा राखिएको सेनाको भनाइ छ।यसअघि उद्धार, राहत र प्रभावित नागरिकको अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाका १ हजार ६ सय जनशक्ति परिचालन गरिएको थियो। थप १ हजार २ सय सैनिक परिचालन भएपछि बाढी प्रभावित तथा नदी तटीय क्षेत्रमा खटिएको सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ।सेनाले बेपत्ता नागरिकको खोजी, शव संकलन तथा प्रभावित क्षेत्रमा उद्धार र राहतका कामलाई निरन्तरता दिइरहेको जनाएको छ।