काठमाडौं । माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदुर तथा स्थानीयको उद्धार कार्य नेपाली सेनाले तीव्र बनाएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार शुक्रबार बिहानदेखि सेनाले सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार सुरु गरेको हो। बिहान साढे १० बजेसम्म दुई जनालाई सुरक्षित रूपमा सुरुङबाट बाहिर निकालिएको छ।सुरुङभित्र अझै कति जना रहेका छन् भन्ने यकिन हुन बाँकी रहेकाले खोजी कार्यलाई निरन्तरता दिइएको छ। कठिन परिस्थितिका बीच सेनाले विशेष तालिमप्राप्त जनशक्ति र आवश्यक प्राविधिक उपकरण परिचालन गरेर उद्धार गरिरहेको जनाएको छ।यसअघि बिहीबारसम्म सुरुङमा फसेका ३ सय ५० जना मजदुर तथा स्थानीयलाई उद्धार गरिएको थियो। बाँकी व्यक्तिहरूको अवस्था पत्ता लगाउने र सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।