काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ।
संघको आकस्मिक बैठकले बाढी प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाउन छुट्टाछुट्टै समिति गठन गर्ने निर्णयसमेत गरेको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार’ मूल समिति गठन गरिएको छ। यस्तै, आर्थिक सहयोग जुटाउन कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति बनाइएको छ। स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खाली र एनसीसी परिचालन तथा सम्बन्धित निकायसँग समन्वयका लागि महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा जिम्मेवारी तोकिएको छ।
संघले आवश्यक मेडिकल टोली तथा स्वयंसेवकलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ। साथै, उद्धार तथा राहत अभियानमा स्वयंसेवकका रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई अपिल गरिएको छ। बाढी प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक थप आर्थिक सहयोग जुटाउन पनि सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ। राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी निकाय र अन्य सरोकारवालासँग समन्वय तथा सहकार्य बढाउने निर्णयसमेत बैठकले गरेको छ।