काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा भरुवा बन्दुक बोकेको तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले गोरखाबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना बन्दुक बोकेको तस्बिर पोस्ट गर्ने व्यक्ति र अर्का लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने व्यक्ति रहेका छन्।
प्रहरीले सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट भीमसेन थापा गाउँपालिका–२, सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१, खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही ठाउँका ३३ वर्षीय विष्णु सुनारलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक खातामार्फत भरुवा बन्दुक बोकेको तस्बिर पोस्ट गरेका थिए। उक्त तस्बिरका आधारमा प्रहरीले खोजी गर्ने क्रममा उनको साथबाट लाइसेन्स नभएको एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।प्रेमलाई पक्राउ गरी सोधपुछ तथा अनुसन्धान गर्दा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका–१, खोप्लाङका विष्णु सुनारको रहेको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।