काठमाडौं । नेपाल र भारतबीच सुरक्षा तथा सीमा व्यवस्थापनका विषयमा छलफल गर्न गठित संयुक्त कार्यसमूहको १४औँ बैठक भारतको देहरादुनमा आयोजना हुने भएको छ।
बिहीबार र शुक्रबार हुने बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्। नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गर्ने तय भएको छ।बैठकमा मुख्य रूपमा सीमापार अपराध, तेस्रो मुलुकका नागरिकको अवैध आवतजावत, लागुऔषध तथा हातहतियारको तस्करी लगायतका विषयमा छलफल हुने बताइएको छ।भारतले नेपाल हुँदै हुने नक्कली नोटको कारोबारबारे गुनासो गर्दै आएको भन्दै बैठकमा यस विषयलाई समेत प्राथमिकताका साथ उठाइनेछ।त्यस्तै पछिल्लो समय देखिएका धार्मिक झडप, सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने अवैध गतिविधि बारे पनि दुवै पक्षबीच छलफल हुने जनाइएको छ।
बैठकमा नेपाल र भारतका सुरक्षा निकायबीच सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुनेछ। नेपाली सुरक्षा निकायको क्षमता अभिवृद्धि तथा भारतीय पक्षबाट आवश्यक सहयोग उपलब्ध गराउने विषय पनि बैठकको एजेन्डामा रहेको बताइएको छ।यसअघि पोखरामा सम्पन्न १३औँ बैठकका निर्णय कार्यान्वयनको अवस्थासमेत समीक्षा गरिनेछ।सीमा सुरक्षाका क्रममा नेपालका प्रमुख जिल्ला अधिकारी र भारतका डिस्ट्रिक्ट मजिस्ट्रेटबीचको समन्वय तथा नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबीच भएका सहकार्यको प्रगतिबारे पनि छलफल हुने बताइएको छ।पोखरामा भएको १३औँ बैठकमा सीमापार अपराध नियन्त्रणसँगै एकीकृत जाँच चौकी, सडक तथा रेल सञ्जाललगायत सीमा पूर्वाधारको विकासबारे छलफल भएको थियो।त्यस्तै सुरक्षा निकायको क्षमता अभिवृद्धि, विपद् जोखिम न्यूनीकरण र पारस्परिक कानुनी सहायता सन्धिलाई अन्तिम रूप दिने प्रक्रियाबारे समेत छलफल भएको थियो।१४औँ बैठकमा अघिल्लो बैठकका सहमति तथा निर्णयको समीक्षा गर्दै सीमा व्यवस्थापनसम्बन्धी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा दुवै देशले छलफल गर्ने तयारी गरेका छन्।