काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि विभिन्न राजनीतिक तथा सांगठनिक प्रस्ताव पेस गर्ने जिम्मेवारी पार्टीका शीर्ष नेताहरूलाई तोकेको छ।
कांग्रेसले साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै महाधिवेशन व्यवस्थापन समिति गठनदेखि विभिन्न प्रस्ताव पेस गर्ने नेताको जिम्मेवारीसमेत तय गरेको हो।कांग्रेसका प्रवक्ता देवराज चालीसेका अनुसार १५औँ महाधिवेशन व्यवस्थापन समिति सभापति गगनकुमार थापाको संयोजकत्वमा गठन गरिएको छ। समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायतका विषय हेर्न आवश्यक उपसमिति गठन गर्नेछ।कांग्रेस महाधिवेशनमा मुख्य राजनीतिक प्रस्ताव सभापति गगनकुमार थापाले पेस गर्ने भएका छन्। उक्त प्रस्तावमा ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयलाई विशेष प्राथमिकता दिइने कांग्रेसले जनाएको छ।
त्यस्तै, ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’ विषयमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेस गर्नेछन्।प्रदेश निर्वाचनसम्बन्धी विशेष प्रस्ताव उपसभापति पुष्पा भुसालले पेस गर्ने जिम्मेवारी पाएकी छन् भने संगठनसम्बन्धी प्रस्ताव महामन्त्री गुरुराज घिमिरेले पेस गर्नेछन्।महाधिवेशनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी भने प्रवक्ता देवराज चालीसेलाई दिइएको छ।कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने पूर्वनिर्णयलाई केन्द्रीय समितिले यथावत् राखेको छ।कांग्रेसले महाधिवेशनलाई केवल प्राविधिक निर्वाचन प्रक्रियामा सीमित नगरी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको उत्सवका रूपमा सम्पन्न गर्ने जनाएको छ।
भदौमा हुन सक्ने अत्यधिक वर्षाका कारण स्थानीय तहका अधिवेशन प्रभावित भएमा केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहको निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्ने व्यवस्था पनि गरिएको छ।कांग्रेसले सक्रिय सदस्यताको डिजिटल अभिलेख व्यवस्थित गर्दै सदस्यता वितरण, नवीकरण, अद्यावधिक तथा अभिलेखीकरणको प्रक्रिया थप सरल, विश्वसनीय र प्रभावकारी बनाउने निर्णय गरेको छ।प्रक्रिया पूरा गरेका सदस्यलाई पार्टीको परिचयपत्र उपलब्ध गराउने तथा छुटेका सदस्यलाई निश्चित समय तोकेर पुनः अद्यावधिक गर्ने अवसर दिने निर्णयसमेत गरिएको प्रवक्ता चालीसेले जानकारी दिए।महाधिवेशन तयारीका लागि आवश्यक समिति गठन तथा संयोजक र सदस्य नियुक्त गर्ने जिम्मेवारी सभापति थापालाई दिइएको छ।