काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकार जनसरोकारका विषयमा संवेदनशील बन्न नसकेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद केरुङले देशभर बढिरहेको प्राकृतिक विपद्, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तथा सरकारको कार्यशैलीबारे प्रश्न उठाएका हुन्।उनले पछिल्लो समय जाजरकोट, बाजुरा, रोल्पालगायतका जिल्लामा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भए पनि सरकारले प्रभावकारी रूपमा उद्धार, राहत तथा पुनःस्थापनाको काम गर्न नसकेको आरोप लगाए।सांसद केरुङले प्रस्तुत गरेको तथ्यांकअनुसार २०८३ वैशाख १ गतेदेखि साउन ३१ गतेसम्म देशभर ४ हजार ६ सय ८१ वटा विपद्का घटना भएका छन्।उनका अनुसार उक्त अवधिमा २ सय ४७ जनाको मृत्यु, १५ जना बेपत्ता र १ हजार ४ सय ६३ जना घाइते भएका छन्। विपद्का कारण ५ हजार ७ सय ९ परिवार प्रत्यक्ष प्रभावित भएको उनले सदनलाई जानकारी गराए।
विपद्को अवस्था गम्भीर बन्दै गए पनि सरकारको प्राथमिकता त्यसतर्फ नदेखिएको भन्दै उनले सरकारको आलोचना गरे।‘नागरिकले ज्यान गुमाइरहेका छन्, घरबस्ती बगिरहेका छन् तर सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छ।’केरुङले सरकार विपद् व्यवस्थापन र जनताको समस्या समाधानमा केन्द्रित हुनुपर्ने समयमा सत्ताको खिचातानी तथा सचिवालयको आन्तरिक काममा अल्झिएको आरोप लगाए।उनले सरकारको गतिविधि लोकतान्त्रिक मूल्य र जनताको अपेक्षाअनुकूल नभएको भन्दै अधिनायकवादतर्फ उन्मुख भएको समेत टिप्पणी गरे।सुकुम्बासी बस्तीका समस्याप्रति राज्य गम्भीर बन्न नसकेको आरोप लगाउँदै उनले भक्तपुरस्थित होल्डिङ सेन्टरमा हिरा मिजार दुसाधको आत्महत्याको घटनालाई समेत सरकारको संवेदनहीनताको उदाहरणका रूपमा प्रस्तुत गरे।सांसद केरुङले विपद्मा परेका नागरिकको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिन तथा प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षण गर्न सरकारसँग माग गरेका छन्।