काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइमा हुलाकी सडक निर्माणको काम लामो समयदेखि अघि बढ्न सकेको छैन।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमासँग सम्बन्धित विषय उठाउँदै सडक निर्माणमा अवरोध गरेपछि करिब १ हजार ४ सय मिटर सडक खण्ड अझै कालोपत्र हुन नसकेको हो। डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६४ किलोमिटर हुलाकी सडकलाई २०७३ फागुनमा तीनवटा प्याकेजमा विभाजन गरी कालोपत्रको ठेक्का दिइएको थियो। त्यसमध्ये दोस्रो प्याकेजअन्तर्गत पर्ने बेलौरी–बेल्डाँडी खण्डको पचुँइ क्षेत्रमा निर्माण कार्य रोकिएको हो। स्थानीयका अनुसार उक्त क्षेत्रमा सीमा स्तम्भ नम्बर ३८ रहेको छ। स्थानीयले लामो समयदेखि सुतिया खोलालाई सीमाका रूपमा मान्दै आएको भए पनि सडक निर्माण सुरु भएपछि भारतीय पक्षले उक्त क्षेत्र दशगजामा पर्ने दाबी गर्दै निर्माणमा रोक लगाउँदै आएको बताइएको छ।
हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार निर्माण व्यवसायीको लापरबाहीका कारण पनि दोस्रो प्याकेजको काम प्रभावित भएको छ। उनका अनुसार उक्त प्याकेज पुनः टेन्डर गर्ने तयारी भइरहेको छ। लामिछानेले पचुँइ क्षेत्रमा सीमा विवादका कारण करिब १ हजार ४ सय मिटर सडक कालोपत्र गर्न नसकिएको बताए। तत्कालका लागि विवादित क्षेत्र छाडेर बाँकी भागमा निर्माण अघि बढाउने योजना रहेको उनको भनाइ छ।
स्थानीय तहदेखि प्रशासनसम्मले विवाद समाधानका लागि पटक–पटक पहल गरे पनि हालसम्म ठोस निष्कर्ष निस्कन सकेको छैन। स्थानीयवासीले भने नेपाली भूभागमा पर्ने सडक निर्माणमा अवरोध हटाउन उच्च तहबाट कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्। हुलाकी सडकका पहिलो र तेस्रो प्याकेजको काम सम्पन्न भइसके पनि दोस्रो प्याकेज भने निर्माण कम्पनीको लापरबाही र सीमा विवादका कारण नौ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।