काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेलासम्मेलनका संयोजक शशांक कोइराला पार्टी सभापति गगन थापालाई नेतृत्वमा स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्।
सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित चियापान कार्यक्रममा सहभागी कोइरालाले कांग्रेसभित्रको विवाद मूलतः नेताहरूको भूमिका र पद बाँडफाँटसँग जोडिएको संकेत गरे।पत्रकारहरूसँग कुरा गर्दै उनले गगन थापालाई सभापतिको जिम्मेवारीमा रहेर सबै पक्षलाई समेटेर अघि बढ्न आफूले आग्रह गर्दै आएको बताए।‘गगन थापा सभापति भएर बस्नुस्, अरू साथीहरूलाई पनि समेटेर अघि बढ्नुस्’ भन्ने आफ्नो धारणा रहेको कोइरालाले बताए। तर, नेतृत्वले अन्य नेताहरूलाई समेट्न नचाहे पार्टीभित्रको समस्या समाधान गर्न कठिन हुने उनको भनाइ थियो।
पत्रकारले ‘गगन थापालाई सभापति मान्न तयार हुनुहुन्छ ’ भनेर सोधेको प्रश्नमा कोइरालाले आफूहरू तयार रहेको जवाफ दिएका थिए।कोइरालाले वर्तमान सभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगन थापाबीचको दूरी कम गर्न आफूले पहल गरिरहेको पनि बताए।उनका अनुसार उनले गगन थापासँग पटक–पटक भेटेर पार्टीभित्र एकता कायम राख्नुपर्ने विषयमा छलफल गरेका छन्। आफू कुनै एक पक्षमा लागेर अघि बढ्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने प्रयासमा रहेको बताए।
‘म पार्टी विभाजनको पक्षमा छैन। हामी बीचको बाटोमा छौं, मिलाएर अघि बढ्नुपर्छ,’ कोइरालाले भने।उनले पार्टीभित्रको समस्या समाधान गर्न दुवै पक्षले आफूलाई के चाहिएको हो भन्ने कुरा स्पष्ट रूपमा राख्नुपर्ने बताए। उनका अनुसार अहिले देखिएको मुख्य विवादको जड नेतृत्व र पदसँग सम्बन्धित विषय हो।कोइरालाले कांग्रेसभित्रको लामो समयदेखिको विवादमा पदको आकांक्षा महत्वपूर्ण कारण रहेको टिप्पणी गरे।पद नचाहिएको भए यत्रो लडाइँ किन हुन्थ्यो ’ भन्दै उनले विगतमा पनि नेतृत्व र पदकै विषयले पार्टीभित्र विभाजन तथा विवाद निम्त्याएको स्मरण गरे।कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन सबै नेताबीच संवाद र समझदारी आवश्यक रहेको उनको भनाइ छ। पार्टीभित्रको दूरी घटाउन आफूले निरन्तर पहल गरिरहने पनि कोइरालाले बताए।