काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको सुक्खा पहिरो पन्छाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ। गएराति (साउन ३० गते) १०ः२५ बजे डाँडामाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा नारायणगढ–काठमाडौँ सडकखण्ड दुईतर्फी नै अवरुद्ध बन्न पुगेको थियो।
सडक अवरुद्ध भएलगत्तै सुरक्षाकर्मी तथा सडक विभागको टोली उपकरणसहित परिचालन भई पहिरो पन्छाउने कार्य निरन्तर जारी राखेका थिए। लगातारको प्रयासपछि आज बिहान ६ः४५ बजे पहिरो पन्छाएर बाटो सफा गरिएसँगै नारायणगढबाट काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट नारायणगढतर्फ आउने सवारी साधनहरूको आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सडक दुवैतर्फी खुलेपछि पहिरोका कारण बाटोमै रोकिएका तथा आवतजावत गर्ने साना–ठूला सवारी साधनहरू नियमित रूपमा आफ्नो गन्तव्यतर्फ लागिसकेको प्रहरीले जनाएको छ।