काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने उक्त भेलाको प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
स्वास्थ्य उपचारका क्रममा करिब पाँच महिना विदेशमा रहेर साउन २८ गते दिउँसो काठमाडौँ फर्किएका देउवालाई कांग्रेस नेता तथा कार्यकर्ताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए। स्वदेश फर्किएलगत्तै देउवा इतर समूहले आयोजना गरेको यो राष्ट्रिय भेलामा सहभागी हुन लागेका छन् ।
इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार आज उद्घाटन हुने राष्ट्रिय भेलाको बन्दसत्र भने साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रमा पार्टीको भावी नीति, समसामयिक राजनीतिक विषय तथा नयाँ कार्यदिशाबारे गहन छलफल हुने नेताहरूले जनाएका छन्। देशभरका करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने यस भेलालाई कांग्रेसभित्रको शक्ति सन्तुलनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।