काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले उजुरी वा आरोप लाग्दैमा कसैलाई दोषी करार गरी चरित्रहत्या गर्न नमिल्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा गृहसचिव र प्रहरी प्रमुखप्रति भएको व्यवहार तथा प्रस्तुतिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए।उनले न्यायिक तथा कानुनी प्रक्रिया पूरा नगरी समितिमै आरोपित व्यक्तिमाथि दोषीसरह व्यवहार गर्नु उचित नभएको बताए। ‘उजुरीकै भरमा कोही पनि न्यायाधीश बन्न मिल्दैन,’ उनको भनाइ थियो। मन्त्री गुरुङले वर्तमान सरकारको भावनाअनुसार प्रहरी प्रशासन दिनरात खटिरहेको दाबी गरे। यस्तै, उनले कारागारभित्र ‘नाइके, भाइनाइके र चौकीदार’ नियुक्तिमा विकृति देखिएको तथा जेललाई कमाइको माध्यम बनाउने प्रवृत्ति बढेको भन्दै हाललाई यस्तो नियुक्ति प्रक्रिया रोकिएको जानकारी दिए। उनका अनुसार अब चौकीदार नियुक्तिका लागि पारदर्शी मापदण्ड लागू गरिनेछ। त्यसका लागि आफूले आवश्यक निर्देशनसमेत दिइसकेको मन्त्री गुरुङले बताए।