काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देश अहिले गम्भीर सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेसभित्र पूर्ण एकता आवश्यक रहेको बताएका छन् । काठमाडौँमा आयोजित नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले देशको अस्तित्व र राष्ट्रियता नै जोखिममा परेकाले वर्तमान अवस्था किन र कसरी सिर्जना भयो भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेसले इतिहासदेखि नै सबै पक्षलाई समेटेर अगाडि बढाउने अभिभावकीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले पार्टीले कुनै पनि प्रकारको निरङ्कुशता स्वीकार नगर्ने जिकिर गरे । कांग्रेस अहिले आन्तरिक रूपमा केही विभाजित मानसिकताबाट गुज्रिरहेको देखिए तापनि देश र व्यवस्थाको रक्षाका लागि पार्टी अन्त्यमा एकढिक्का हुनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको उनको भनाइ थियो।
नेता कोइरालाले कांग्रेस एकताबद्ध भएपछि मात्र अन्य राजनीतिक दलहरूसँग सहमति, सहकार्य र एकताको राजनीति अगाडि बढाउन सकिने बताए । मुलुकमा दलहरूबाहिर पनि अन्य शक्तिहरू विद्यमान रहेको औँल्याउँदै उनले ती सबै पक्षसँग सहकार्य गरेर राष्ट्रियतालाई मजबुत बनाउन सके कांग्रेस र देश दुवैको भविष्य उज्ज्वल हुने बताए । लोकतान्त्रिक व्यवस्थामाथि विभिन्न चुनौतीहरू थपिँदै गएको परिप्रेक्ष्यमा सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा उहाँले विशेष जोड दिएका छन् ।