काठमाडौं । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा कम्तीमा नौ जना प्रहरीको मृत्यु भएको छ।
घटनापछि केही प्रहरी अझै बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।
जिल्लाका वरिष्ठ अधिकारी अब्दुल कुदोसका अनुसार मङ्गी बाँध परियोजनाको सुरक्षाका लागि खटिएको प्रहरी चौकीमा बन्दुकधारी समूहले आक्रमण गरेको थियो। आक्रमणमा नौ जना प्रहरीको ज्यान गएको र केही प्रहरीको अवस्था अझै अज्ञात रहेकाले खोजी जारी रहेको उनले बताए।
बलुचिस्तान प्रदेश सरकारका प्रवक्ता शाहिद रिन्दले पनि घटनामा नौ प्रहरीको मृत्यु भएको पुष्टि गर्दै मृतकमध्ये विभिन्न प्रहरी चौकीका वरिष्ठ अधिकारीसमेत रहेको जानकारी दिए। प्रारम्भिक अनुसन्धानका आधारमा आक्रमणमा इस्लामवादी उग्रवादी समूहको संलग्नता रहेको आशङ्का गरिएको उनले बताए।
घटनापछि अर्धसैनिक बल, प्रहरी तथा आतङ्कवादविरुद्ध परिचालित सुरक्षा निकायले संयुक्त रूपमा खोजी तथा सुरक्षा अभियान सञ्चालन गरेका छन्। आक्रमणकारीहरूको खोजी जारी रहेको जनाइएको छ।