काठमाडौं । नेपाललाई विश्व वित्तीय प्रणालीसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंक ले काठमाडौंमा महत्वपूर्ण अन्तर्राष्ट्रिय वित्तीय संवाद आयोजना गरेको छ।
काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा आयोजित कार्यक्रममा क्रस रिभर बैंकका वरिष्ठ अधिकारीहरू, नेपालका प्रमुख वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली लगानीकर्ता तथा पूर्वराजदूतहरू एउटै मञ्चमा सहभागी भएका थिए।
नेपालले अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सक्ने क्षमता, त्यसका लागि आवश्यक वित्तीय वातावरण र विश्वका संस्थागत लगानीकर्तालाई नेपालतर्फ आकर्षित गर्ने रणनीतिबारे केन्द्रित रहेर छलफल भएको हो। कार्यक्रमको मुख्य प्रश्न थियो– नेपाल लगानीका लागि तयार छ कि छैन भन्ने होइन, विश्वका ठूला लगानीकर्ताले नेपाललाई आफ्नो गन्तव्य किन बनाउने र त्यसका लागि आवश्यक संरचना कसरी निर्माण गर्ने?
क्रस रिभर बैंक र अमेरिकी वाणिज्य संघ नेपाल को संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रिया खुला र स्वतन्त्र संवादका लागि विशेष नियमअन्तर्गत आयोजना गरिएको हो।
यो कार्यक्रम नेपालका लागि महत्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ। पहिलोपटक नेपालको बैंकिङ, लगानी र निजी क्षेत्रका शीर्ष नेतृत्वलाई एउटै मञ्चमा ल्याएर नेपाललाई विश्वव्यापी पूँजीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको हो।
छलफलको नेतृत्व क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल, अमेरिकी वित्तीय क्षेत्रमा स्थापित नेपाली मूलका वरिष्ठ नेतृत्वकर्ता, तथा बैंकका लगानी बैंकिङ प्रमुख हेनरी पिनेलले गरेका थिए। पिनेल विशेष रूपमा न्यूयोर्कबाट काठमाडौं आएका हुन्।
क्रस रिभर बैंकका प्रतिनिधिहरूले नेपालको सम्भावना परम्परागत विकास सहायता वा विप्रेषणमा मात्र सीमित नभएको बताएका छन्। नेपालले विश्व वित्तीय प्रणालीसँग नयाँ ढङ्गले जोडिन सक्ने अवसर पाएको भन्दै वित्तीय पूर्वाधार, लगानीका साधन र पूँजी परिचालनको संयन्त्र निर्माणमा दीर्घकालीन सहकार्य गर्न आफूहरू इच्छुक रहेको सन्देश दिएका छन्।
पूँजीको अभाव होइन, परिचालनको चुनौती
छलफलमा नेपालको आर्थिक अवस्थाको एउटा प्रमुख विरोधाभासबारे चर्चा भएको थियो। नेपालसँग ठूलो वित्तीय स्रोत हुँदाहुँदै पनि त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्ने प्रणाली अझै कमजोर रहेको सहभागीहरूले बताएका छन्।
नेपालसँग करिब २३ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। बैंकिङ प्रणालीमा ठूलो मात्रामा निक्षेप छ भने सञ्चय कोष, पेन्सन कोष तथा बीमा कम्पनीहरूसँग १३ अर्ब अमेरिकी डलरभन्दा बढी बराबरको पूँजी न्यून प्रतिफल दिने मुद्दती निक्षेपमा रहेको विषय छलफलमा उठाइएको छ।
यति ठूलो वित्तीय स्रोत हुँदाहुँदै पनि नेपालले अपेक्षित स्तरमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आकर्षित गर्न नसकेको सहभागीहरूको निष्कर्ष छ। छलफलमा प्रस्तुत तथ्यअनुसार प्रतिबद्ध विदेशी लगानीमध्ये करिब ३९ प्रतिशत मात्र कार्यान्वयनमा आएको विषय पनि उठाइएको छ।
सहभागीहरूले नेपालको समस्या पूँजी नभई त्यस्तो वित्तीय प्रणालीको विकास गर्नु रहेको बताएका छन्, जसले पूँजीलाई प्रभावकारी रूपमा परिचालन गर्न, जोखिमको उचित मूल्याङ्कन गर्न, लगानीकर्तालाई निकासको सुनिश्चितता दिन र दीर्घकालीन लगानी आकर्षित गर्न सकोस्।
नेपालमा अझै विकसित ऋणपत्र बजार, जोखिमअनुसार मूल्य निर्धारण प्रणाली तथा अन्तर्राष्ट्रिय लगानीकर्ताले अपेक्षा गर्ने आधुनिक पूँजी बजार संरचना पर्याप्त रूपमा विकास हुन बाँकी रहेको औँल्याइएको छ।
ऊर्जा क्षेत्र: नेपालको ठूलो अवसर
कार्यक्रममा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विश्वव्यापी लगानी आकर्षित गर्न सक्ने सबैभन्दा ठूलो अवसरका रूपमा प्रस्तुत गरिएको छ।
विश्व अहिले तीव्र गतिमा विद्युतीकरण र कृत्रिम बुद्धिमत्तामा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको छ। अमेरिका, युरोप र अष्ट्रेलियाका धेरै क्षेत्रमा नयाँ तथ्याङ्क केन्द्र निर्माणका लागि आवश्यक विद्युत् जडान गर्न लामो समय कुर्नुपर्ने अवस्था रहेको विषय पनि छलफलमा उठाइएको छ।
यस्तो अवस्थामा नेपाल क्रमशः विद्युत् अधिशेष उत्पादन गर्ने मुलुकका रूपमा अघि बढिरहेको भन्दै ऊर्जा क्षेत्रमा ठूलो सम्भावना रहेको सहभागीहरूले बताएका छन्।
तर सम्भावनासँगै चुनौती पनि रहेको भन्दै ऊर्जा विकासकर्ताहरूले नेपाल सरकारले जलविद्युत् परियोजनामा तोकेको १७ प्रतिशत इक्विटी आन्तरिक प्रतिफल (आइआरआर) विदेशी लगानीकर्ताका लागि अमेरिकी डलरमा करिब ११ प्रतिशत वरिपरि मात्र सीमित हुने अवस्था रहेको बताएका छन्।
त्यसमाथि नेपाली रुपैयाँको अमेरिकी डलरसँगको निरन्तर अवमूल्यनले वास्तविक प्रतिफलमा असर पार्ने विषय पनि उठाइएको छ। छलफलमा विगत केही वर्षमा विनिमय दर करिब ११० रुपैयाँबाट १५० रुपैयाँ प्रति अमेरिकी डलर पुगेको उदाहरण प्रस्तुत गरिएको छ।
एक ऊर्जा विकासकर्ताले छलफलमा भने— “एउटा मात्र परियोजनाका आधारमा हेर्दा नेपालमा जोखिमअनुसारको प्रतिफल अझै पनि विश्वव्यापी लगानीकर्ताको अपेक्षाअनुसार प्रतिस्पर्धी बन्न सकेको छैन।”
एउटै परियोजनामा मात्र केन्द्रित नभई नेपालले आफ्ना परियोजना, वित्तीय संरचना र लगानी मोडललाई विश्वस्तरीय लगानीकर्ताका लागि अझ आकर्षक बनाउन आवश्यक रहेको छलफलको निष्कर्ष छ।
यही सम्भावना र चुनौतीको समाधान खोज्न क्रस रिभर बैंक काठमाडौं आएको हो।
-1782547501.jpg)