काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३९ किलो १४२ ग्राम उच्च स्तरको थाई गाँजासहित आठ जना विदेशी नागरिक पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते राति विदेशबाट हवाई मार्ग हुँदै नेपाल भित्र्याइएको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेज र फुकेतबाट आएको बाटिक एयरवेज मार्फत नेपाल आएका यात्रुहरूमाथि शङ्का लागी जाँच गर्दा उनीहरूको लगेजबाट सो परिमाणको गाँजा बरामद भएको हो।
थाई एयरवेजको उडानबाट पक्राउ पर्नेहरूमा म्यानमारका पाँच जना नागरिक रहेका छन्। जसमा २३ वर्षीय जर नी लिन, २६ वर्षीया एलएल थोइ, ३९ वर्षीय औङ बवार, ३२ वर्षीय चुए माईथहवाल शैन र ३२ वर्षीय जिन म्याओङ रहेका छन्।
यसैगरी बाटिक एयरवेजको उडानबाट आएका भारत पञ्जाबका तीन जना नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २३ वर्षीय खुशदीप, ३२ वर्षीय गुरुदिप सिंह र २६ वर्षीया कामिनि रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३९ किलो १४२ ग्राम थाई गाँजा, आठ थान पासपोर्ट र आठ थान मोबाइल फोनसमेत बरामद गरेको छ। पक्राउ परेका सबैजनामाथि लागु औषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको ब्यूरोका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिएका छन् ।
