काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आगामी भदौ ५ गते शुक्रबार बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ।
रास्वपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट, पार्टीको सङ्गठनात्मक व्यवस्थापन तथा विभिन्न पदहरूमा मनोनयनलगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ । बैठकको मुख्य कार्यसूचीमा आगामी स्थानीय तहको निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने र जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार अर्थात् ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने विषय समावेश छ।
यसैगरी, केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनसम्बन्धी प्रस्तावसमेत बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको छ। बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्यहरूको मनोनयन गर्नुका साथै केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय लिनेछ। बैठकमा पार्टीको आधिकारिक मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामको मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि छलफल ्रास्वपाले जनाएको छ ।