काठमाडौँ । नेपाल सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बिच मङ्गलवारदेखि औपचारिक वार्ता सुरु भएको छ। महाअभियानले अघि सारेका विभिन्न मागहरूको समाधान खोज्नका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षबिच संवाद अघि बढेको हो।
वार्ताका लागि नेपाल सरकारको तर्फबाट भदौ १ गते सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरिएको थियो। उक्त टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन् ।
सरकारको औपचारिक आह्वानबमोजिम महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले पनि विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेका छन् । दुवै पक्षबाट आधिकारिक वार्ता टोली गठन भएसँगै लामो समयदेखि आन्दोलनरत महाअभियानसँग सरकारको औपचारिक संवाद र निकासको प्रक्रिया सुरु भएको छ।