काठमाडौँ। केही वर्षअघिसम्म भोजपुरका धेरै ग्रामीण बस्तीहरू युवाविहीन बन्दै गएका थिए। वैदेशिक रोजगारी, बसाइँसराइ र कृषिप्रतिको घट्दो आकर्षणका कारण गाउँहरू सुनसान देखिन्थे भने खेतीयोग्य जमिन बाँझै रहन थालेका थिए। तर पछिल्ला वर्षहरूमा त्यही अवस्था परिवर्तन हुँदै गएको छ, जसको प्रमुख आधार बनेको छ अकबरे खुर्सानी खेती।
कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवाहरू र विदेश जान नपाएका परिवारहरूले पुनः कृषिमा ध्यान दिन थाले। त्यसक्रममा अकबरे खुर्सानीलाई नगदेबालीका रूपमा अपनाइएपछि भोजपुरका विभिन्न क्षेत्रमा कृषि गतिविधि उल्लेखनीय रूपमा बढेको छ। पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तथा भोजपुर नगरपालिकाका विभिन्न वडामा अहिले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती विस्तार भएको छ। पहिले बाँझो रहेका खेतबारी अहिले हराभरा देखिन थालेका छन् भने राताम्ये खुर्सानीले गाउँको स्वरूप नै फेरिएको छ।
परम्परागत बालीबाट अपेक्षित आम्दानी नहुने र जंगली जनावरका कारण धान, मकैलगायतका बालीमा क्षति हुने समस्याले किसानहरू वैकल्पिक खेतीतर्फ आकर्षित भएका थिए। यही क्रममा अकबरे खुर्सानी प्रभावकारी विकल्प बनेको हो। यस अभियानलाई अघि बढाउने व्यक्तिका रूपमा जीवन राउतलाई चिनिन्छ। कोभिडअघि ट्राभल व्यवसायमा संलग्न रहेका राउत महामारीपछि गाउँ फर्किएर कृषिमा सक्रिय बने। उनले किसानहरूलाई उत्पादनको बजार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै अकबरे खेती विस्तारको पहल गरे। सुरुवातमा सीमित किसान सहभागी भए पनि विस्तारै यो अभियान व्यापक बन्दै गयो।
किसानहरूका अनुसार अकबरे खुर्सानी खेतीले छोटो अवधिमै आम्दानी दिन थालेको छ। रोपेको केही महिनामै उत्पादन बिक्री गर्न सकिने भएकाले यो खेती धेरै परिवारको मुख्य आयस्रोत बनेको छ। पहिले सामान्य उत्पादन हुने जमिनबाट अहिले लाखौं रुपैयाँ आम्दानी हुन थालेको उनीहरू बताउँछन्। राउतले सञ्चालन गरेको जेबी एग्रो फर्मले बीउ, प्राविधिक सहयोग तथा बजार व्यवस्थापनमा भूमिका निर्वाह गरिरहेको छ। यसले किसानलाई उत्पादनदेखि बिक्रीसम्म सहज वातावरण उपलब्ध गराएको छ।
‘अकबरे हब’ बन्दै भोजपुर: अकबरे खुर्सानीको व्यावसायिक विस्तारसँगै भोजपुरले नयाँ पहिचान बनाउँदै गएको छ। खुकुरीका लागि प्रसिद्ध जिल्ला अहिले अकबरे उत्पादनका लागि पनि परिचित बन्दै गएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा करिब ३ हजार ५ सय परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस खेतीमा आबद्ध छन्। कतिपय किसानले सय रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेका छन्। जिल्लाबाट वार्षिक २५० देखि ३०० टनसम्म अकबरे उत्पादन हुने अनुमान गरिएको छ। यहाँ उत्पादित खुर्सानी विभिन्न चाउचाउ तथा अचार उद्योगमा प्रयोग हुँदै आएको छ। यद्यपि उत्पादन वृद्धि भएसँगै मूल्यमा गिरावट आएको छ। केही वर्षअघि प्रतिकिलो ४०० रुपैयाँसम्म पुगेको अकबरे अहिले १५०–१६० रुपैयाँमा कारोबार भइरहेको छ। ढुवानी, भण्डारण र बजार पहुँचका समस्या अझै किसानका चुनौतीका रूपमा रहेका छन्।
प्रशोधन उद्योगको योजना: उत्पादनको दिगोपनाका लागि जीवन राउतले गाउँमै कोल्ड स्टोर तथा खुर्सानी पाउडर उद्योग स्थापना गर्ने योजना अघि सारेका छन्। उनका अनुसार प्रशोधन र भण्डारणको सुविधा भएमा किसानले उपयुक्त समयमा उत्पादन बिक्री गरी बढी लाभ लिन सक्नेछन्। भोजपुरको अकबरे यसअघि बेलायत, अमेरिका र क्यानडासम्म निर्यात भइसकेको छ भने हाल भारततर्फ पनि निर्यात विस्तार हुँदै गएको छ। विदेशी बजारबाट समेत माग बढ्न थालेपछि यसको व्यावसायिक सम्भावना अझ बलियो देखिएको छ।
अन्य नगदेबालीतर्फ पनि विस्तार: अकबरे खेतीको सफलतापछि राउतले ड्रागन फ्रुट, कागती, अदुवा लगायतका नगदेबालीमा समेत लगानी बढाउने तयारी गरेका छन्। साथै पशुपालन र जैविक मल उत्पादनलाई कृषि प्रणालीसँग जोडेर एकीकृत कृषि विकासको अवधारणा अघि बढाइरहेका छन्। अकबरे खुर्सानीले भोजपुरमा आर्थिक लाभ मात्र होइन, सामाजिक परिवर्तनसमेत ल्याएको छ। रित्तिँदै गएका गाउँमा फेरि मानिसहरूको चहलपहल बढेको छ, बाँझो जमिन उत्पादनशील बनेको छ र कृषिले गाउँमै रोजगारी सिर्जना गर्न थालेको छ। भोजपुरको यो अनुभव अहिले अन्य जिल्लाका लागि पनि प्रेरणादायी कृषि मोडेलका रूपमा हेरिन थालेको छ।