काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सोमबार भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनबाट सभापतिसहित केन्द्रीय सदस्यहरूको चयन हुने कार्यक्रम छ।
पार्टीमा ९९ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचनबाट चुनिनेछन् भने बाँकी सदस्य मनोनयनमार्फत चयन गरिने व्यवस्था छ। रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय रहनेछ र प्रदेश सभापतिहरू पदेन सदस्य हुनेछन्। सुदूरपश्चिमबाट केन्द्रीय सदस्य पदका उम्मेदवार केपी खनालले महाधिवेशनले वैकल्पिक राजनीतिको पक्षमा जनताले दिएको विश्वासलाई सार्थक बनाउने नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले सुदूरपश्चिमको आवाजलाई केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए।
खनालले पार्टीभित्र गुट–उपगुटको राजनीति नभएको दाबी गर्दै सबै प्रतिनिधिहरू उत्साहका साथ महाधिवेशनमा सहभागी भएको बताए। उनले आफूलाई योग्य ठाने प्रतिनिधिहरूले मतदान गर्न सक्ने उल्लेख गरे। त्यस्तै, रास्वपा सांसद रहबर अन्सारीले पार्टीलाई लोकतान्त्रिक र उदारवादी विचारधाराबाट निर्देशित राजनीतिक शक्ति भएको बताए। उनले विश्व राजनीतिमा परम्परागत वामपन्थी र दक्षिणपन्थी वर्गीकरणको प्रभाव घट्दै गएको उल्लेख गर्दै रास्वपा पुराना राजनीतिक धारभन्दा फरक सोच र दृष्टिकोण बोकेको पार्टी रहेको बताए। उनले पार्टीको वैचारिक दिशा र नीतिगत विषयहरू दस्तावेजमार्फत अझ स्पष्ट हुने बताए।