काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग विगतदेखि सहकार्य हुँदै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताएका छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा दुई दलबीच साझा धारणा रहेको उल्लेख गरे। उनले यी मुद्दाहरूमा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको पनि बताए। पुनले रास्वपाको महाधिवेशनलाई देशभर चासोका साथ हेरिएको उल्लेख गर्दै यसबाट चयन हुने नेतृत्व, नीति तथा कार्यदिशाले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने धारणा राखे। रास्वपा पहिलोपटक देशव्यापी संगठनात्मक संरचनासहित अघि बढ्न लागेको भन्दै उनले महाधिवेशनलाई पार्टीका लागि महत्वपूर्ण मोडका रूपमा व्याख्या गरे।
उनका अनुसार माओवादी केन्द्र र रास्वपाबीच पृष्ठभूमि र राजनीतिक यात्रामा भिन्नता भए पनि परिवर्तन, सुशासन र समाज रूपान्तरणका विषयमा धेरै समानता छन्। उनले लोकतान्त्रिक मूल्य, न्याय र सुशासनको पक्षमा दुवै दलले विभिन्न समयमा सहकार्य गरेको स्मरण गरे। पुनले राजनीतिक सुधार र संस्थागत विकासका प्रयासहरू संविधान तथा कानुनको दायराभित्रै हुनुपर्नेमा जोड दिए। साथै, सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति रास्वपाको प्रतिबद्धता अझ स्पष्ट हुनुपर्ने अपेक्षा पनि व्यक्त गरे। रास्वपाले छोटो समयमै उल्लेखनीय जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको सक्रिय सहभागिताले नेपाली राजनीतिमा नयाँ आशा जगाएको बताए। लोकतन्त्रमा जनताले नै शक्ति दिने र आवश्यक परे फिर्ता पनि लिन सक्ने भन्दै उनले राजनीतिक दलहरूले विनम्रता, धैर्यता र संस्थागत अभ्यासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्दै पुनले सक्षम नेतृत्व चयनसहित रास्वपा अझ संगठित र स्पष्ट राजनीतिक दिशामा अघि बढ्ने अपेक्षा व्यक्त गरे।