काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेन्डाहरूलाई पार्टीभित्रकै केही नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरूमा पनि राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केही नेताहरूले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ।
उनले आफ्नो सिद्धान्तबाट पार्टी विचलित नहुने भन्दै दुबिधामा बस्न जरुरी नभएको बताए । राप्रपाको इतिहास र पुराना नेतृत्व गौरव पार्टीका लागि गौरव भए पनि विगतको नेतृत्वका छोड्नुपर्ने थुप्रै कुराहरू रहेको उनको भनाइ छ ।
उनले संगठन सञ्चालनका लागि पुराना कुराहरूको अनुकरण गरे पार्टी फुट्ने र जोडिने श्रृंखला चलिराख्ने तर्क गरे । व्यक्तिगत टक्कर र अहंमको जाँतोमा राप्रपालाई पारेका कारण नै पार्टी र मुलुकमा संकट पैदा भएको उनले बताए।
उनले आगामी मङ्सिर २६, २७ र २८ गतेका लागि महाधिवेशन प्रस्ताव गरिएको भन्दै महाधिवेशनले देशलाई नयाँ सन्देश दिने धारणा राखे ।
बैठकमा राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक तोरण बहादुर गुरुङले निर्वाचन निर्देशिका, सक्रिय सदस्यता सम्बन्धी निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी नियमावली प्रस्तुत गरेका छन् भने राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले पार्टीको सचिवालय सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।