काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । उनले बुधबार एक वक्तव्य जारी गर्दै आजकै मितिदेखि सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेको जानकारी दिएका हुन् ।
महराले विगत करिब ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सहभागी हुँदै आएको उल्लेख गरेका छन् ।
नेकपा चौथो महाधिवेशन, मशाल, एकता केन्द्र, माओवादी, एकीकृत नेकपा (माओवादी), माओवादी केन्द्र हुँदै हाल नेपाल कम्युनिष्ट पार्टीसम्मको यात्रामा आफूले आफ्नो क्षमता, समय र जीवनको महत्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको उनले बताएका छन् ।
