काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी प्रथम ऐतिहासिक महाधिवेशनका क्रममा निर्वाचन आचारसंहिताभित्र रहेर मात्र चुनावी प्रक्रियामा सहभागी हुन नेता तथा कार्यकर्ताहरूलाई कडा निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बसेको रास्वपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
महाधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदमा दाबी गर्ने र आवश्यकताभन्दा बढी तडकभडक तथा प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र बाँधिन निर्देशन दिइएको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । पार्टीका सदस्यहरूबीच कुनै मतभेद नराखी सौहार्दपूर्ण रूपमा पार्टीलाई एकढिक्का राख्न आचारसंहिता पालना अनिवार्य गरिएको उनको भनाइ छ।
महामन्त्री बुर्लाकोटीका अनुसार यसपटकको महाधिवेशनमा पूर्ण रूपमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ, जसका लागि निर्वाचन तालिका बमोजिम काम सुरु भइसकेको जनाएको छ।
बैठकमा विधान संशोधनसम्बन्धी महत्त्वपूर्ण छलफल भई सचिवालयले केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ। हालसम्मको प्रस्तावअनुसार रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय बनाउने र प्रदेश समितिका सभापतिहरू स्वतः पदेन सदस्य रहने गरी छलफल अगाडि बढेको छ।
सचिवालय बैठकले आर्थिक अनुशासनलाई कडाइका साथ लागू गर्दै महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेवी बुझाएको हुनुपर्ने नियम बनाएको छ। लेवी नतिरेका प्रतिनिधिहरूलाई महाधिवेशन हलमा प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइने बुर्लाकोटीले जानकारी दिएका छन् ।
चितवनमा हुने महाधिवेशनमा २५ सयदेखि ३ हजारसम्म महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ। यसबाहेक हरेक जिल्ला समितिले १ जना र प्रदेश समितिले ३ जनाका दरले पर्यवेक्षक पठाउन पाउनेछन्। महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना आदानप्रदानका लागि देशका विभिन्न राजनीतिक दलका प्रमुख (सभापति तथा अध्यक्ष) हरूलाई निमन्त्रणा गरिएको छ।
सचिवालय बैठकले मधेस प्रदेश बाहेक अन्य छ वटै प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। महाधिवेशनका लागि गठित विभिन्न उपसमितिहरूले असार ६ गते साँझसम्म सम्पूर्ण तयारी पूरा गरिसक्ने प्रतिवद्धता जनाएका छन्। रास्वपाको बहुप्रतिक्षित प्रथम महाधिवेशन यही असार ७, ८ र ९ गते चितवनमा हुँदैछ, जसले पार्टीको नयाँ नेतृत्व समेत चयन गर्नेछ।