काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्री प्रतिभा रावलले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण प्रक्रिया सुरु गरिने बताएकी छन्।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीको व्यवस्थापन र जग्गाधनी प्रमाणपत्र वितरणको कामलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन्। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सुकुमवासीलाई लालपुर्जा वितरणको अवस्था र काठमाडौंका सुकुमवासीहरूको व्यवस्थापनबारे प्रश्न उठाएका थिए। उनले होल्डिङ सेन्टरको व्यवस्थापन प्रभावकारी नभएको भन्दै आवश्यक परे उनीहरूलाई पुरानै स्थानमा व्यवस्थित बसोबासको व्यवस्था गर्न सुझाव दिएका थिए। जवाफमा मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक तयारी पूरा भइसकेको उल्लेख गर्दै असारको तेस्रो साताबाट वितरण कार्य औपचारिक रूपमा सुरु हुने बताइन्। उनका अनुसार विगतमा भूमि आयोगमार्फत सञ्चालन हुँदै आएको कामलाई वर्तमान सरकारले नयाँ भूमि सम्बन्धी समितिमार्फत अघि बढाउँदै सुकुमवासीको दीर्घकालीन व्यवस्थापनमा जोड दिएको छ।