काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेको जवाफ दिइन् ।
स्पष्टीकरणमा सोधिएका प्रश्नको जवाफ दिएर आफ्नो धारणा सकिन् । सभामुखले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकको छलफल समाप्त भएको जानकारी गराए ।
त्यसपछि श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङ उठे । सभामुखले स्पष्टीकरणमा फेरि स्पष्टीकरण सोध्ने व्यवस्था नरहेको भन्दै बस्न आग्रह गरे । सभामुखले हर्कको प्रश्नको जवाफ आगामी दिनमा आउला भन्दै बस्न आग्रह गरे । हर्क बसेनन् ।
उनले मन्त्रीसँग स्पष्टीकरणमा सोधेका थिए, “संगीत, खेलकुद र चलचित्रलाई पनि उद्योग मान्छ सक्छौँ कि सक्दैनौँ । मान्न सक्छौँ भने त्यस क्षेत्रमा बजेट विनियोजन के कति गरेका छौँ । त्यसको उत्तर दिनुहोला ।”
मन्त्रीले आफ्नो प्रश्नमा जवाफ नदिएको भन्दै उठिरहे । सभामुखले भने, “स्पष्टीकरणमाथि स्पष्टीकरण हुँदैन । माननीय सदस्यले बोलेको कुरा आगामी दिनमा आउला । यहाँ बसेर वादविवाद नगरौँ ।”
सभामुखले आफूले सोधेको जवाफ मन्त्रीले नदिएपछि मन्त्रालयमा गएर पनि सोध्न सकिने समेत बताए । उनले सभा सञ्चालनका लागि सहयोगको आग्रह गरे थर उनले मानेनन् ।
रास्वपाका सांसद् मनिष झाले नियमापत्ति गरे । नियमावलीको नियम ५४ मा मन्त्रीले उत्तर दिन अस्वीकार गर्न सक्ने व्यवस्था राखिएको बताए । “माननीयज्यूलाई पटकपटक बालहठ नगर्न सभामुखज्यूमार्फत अनुरोध गर्छु । नियम कानुनको कुरा गर्दै हुनहुन्थ्यो । नियम त स्पष्ट लेखिएको छ,” झाले भने, “नियम पढ्नुस् । पेज नम्बर ३२, बुँदा नम्बर ५४ र ५५ मा लेखिएको छ ।”
सभामुखले राईलाई बस्न आग्रह गरे । श्रम संस्कृतिको सांसद धुव्रराज राईले मनिषको जवाफ दिए । उनले नियमापत्ति गर्दै राष्ट्रिय हितविपरीत हुने अवस्थामा मन्त्रीले अस्वीकार गर्न सक्ने भन्ने आशय नियमावलीको रहेको बताए । अध्ययन गर्न मनिषलाई आग्रह गरे ।
त्यसपछि सभामुखले हर्कलाई बस्न आग्रह गरे । उनी माननेन् । सभामुखले हर्कलाई बस्न आदेश गरे । “माननीय सदस्यलाई बस्न म आदेश गर्छु,” सभामुखले भने ।
हर्क बोलिरहे । सभामुखले फेरि आसनग्रहण गर्न आदेश दिए । हर्क बसेनन् । र, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मन्त्रालयसँग सम्बन्धित छलफलमा उठेको प्रश्नको जवाफ दिन समय दिए ।
उनले जवाफ दिइन् । श्रम संस्कृति पार्टीका सांसद उभिए । त्यसपछि उनीहरू वेलमा पुगे । सभामुखले आदेशबारे ध्यानाकर्षण गराए । श्रम संस्कृति पार्टीको विरोध जारी रहेपछि बैठक स्थगित भएको हो ।