काठमाडौं । प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्याल प्रवेश गर्दा मन्त्रीहरू नउठेका भनेर नियमापत्ति जनाइएको छ । मंगलबार (असार २) बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले आपत्ति जनाएका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (क)मा सभामुख बैठककक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था रहेको उनले उल्लेख गरे । उनले नउठेका मन्त्रीको भिडियो ‘चेक’ गरी ‘रुलिङ’का निम्ति आग्रह पनि गरे ।
“सम्मानीय सभामुख महोदय बैठककक्षमा प्रवेश गर्दैगर्दा दुईजना मन्त्रीज्यूले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनुभएको छ,” उनले भने, “यसले हामीलाई चिन्तित र गम्भीर भएको छ । त्यो भिडियो चेक गरी रुलिङ गर्न अनुरोध गर्दछु ।”
बैठककक्षमा सभामुख अर्याल प्रवेश गर्दा अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वधार विकासमन्त्री सुनिल लम्साल आसनबाट उठेका थिएनन् । सांसदहरू भने आसनबाट उठेका थिए । त्यसअघि, मन्त्रालयगत छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएका भन्दै आपत्ति जनाइँदा १५ मिनेटका निम्ति बैठक स्थगन गरिएको थियो । त्यसपछिको बैठक सञ्चालनका निम्ति सभामुख प्रवेश गर्दा मन्त्रीहरू नउठेका भनेर उनले आपत्ति जनाएका हुन् ।
तर, सभामुख अर्यालले नियमापत्तिपट्टि ध्यान दिएनन् । उनले रोस्ट्रममा पुगिसकेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलाललाई बोल्न दिएर बैठकका काम–कारबाही अघि बढाए ।