काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनःस्थापना नभएसम्म देश र जनताले वास्तविक सुख–शान्ति पाउन नसक्ने दाबी गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणसम्बन्धी जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा उनले राजसंस्था पुनःस्थापना र गद्दीमा राजालाई पुनःस्थापित गर्न आफू धवलशमशेर राणासँग मिलेर नयाँ पार्टी गठन गर्ने निर्णयमा पुगेको बताए। प्रसाईंले नेपाललाई वैदिक सनातन हिन्दु अधिराज्यका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै, देशको भूगोल र सांस्कृतिक पहिचानसँग राजसंस्था जोडिएको बताए। उनका अनुसार “राजसंस्था फर्किएपछि मात्र देशमा स्थायित्व, शान्ति र समृद्धि सम्भव हुन्छ” भन्ने साझा लक्ष्यका साथ आफू र राणाबीच सहकार्य अघि बढाइएको हो। उनले सहकार्यमा कुनै मतभेद नहुने पनि स्पष्ट पारे।