काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम पूर्ण रूपमा बदर गरेसँगै नवनिर्वाचित जिल्ला सभापति कविन्द्र ठकुल्लाको पद खारेज भएको छ। गत जेठ २५ गते सम्पन्न अधिवेशनबाट ठकुल्ला भारी मतका साथ जिल्ला सभापतिमा विजयी भएका थिए।
केन्द्रीय निर्वाचन आयोगले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, कैलाली जिल्लाका रास्वपाका माननीय (सांसद) हरूको असहमति र सल्लाहको बाबजुद अवैधानिक ढङ्गले विधान तथा कार्यविधि विपरीत जबरजस्ती निर्वाचन गराइएको पाइएको छ। जिल्लाका उम्मेदवारहरू र पार्टी सदस्यहरूले प्रमाणसहित दर्ता गराएको उजुरीका आधारमा आयोगले अध्ययन गर्दा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरू पालना नभएको प्राथमिक रूपमै पुष्टि भएपछि यो कडा निर्णय लिइएको हो।
जेठ २५ गते भएको अधिवेशनमा कुल खसेको मतमध्ये विजयी भएका कविन्द्र ठकुल्लाले ३३५ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी महेशकुमार चौधरीले जम्मा ३७ मत र अर्का प्रतिस्पर्धी हरि रेग्मीले २२ मत मात्रै प्राप्त गरेका थिए।
एकपक्षीय जस्तो देखिएको यो मतपरिणाम र निर्वाचन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै उम्मेदवारहरूले तत्कालै उजुरी हालेका थिए। आयोगले निर्वाचन खारेज गरेसँगै अब कैलालीमा फेरि नयाँ प्रक्रियाबाट नेतृत्व चयनका लागि मतदान गराइनेछ।
