काठमाडौँ। लोकसेवा आयोगले आफ्नो ७६औं वार्षिकोत्सव तथा हीरक जयन्ती वर्ष २०८३ को अवसरमा आइतबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
कमलपोखरीस्थित आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी अनामनगर, सिंहदरबार, सर्वोच्च अदालत र पुतलीसडक क्षेत्रको परिक्रमा गर्दै पुनः कमलपोखरीमै पुगेर सम्पन्न भएको आयोगका प्रवक्ता तथा सहसचिव पुरुषोत्तम शर्माले जानकारी दिए। कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी ले योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा दक्ष जनशक्ति छनोट गर्ने कार्यमा आयोग निरन्तर क्रियाशील रहेको बताए। उनले निष्पक्षता, पारदर्शिता र स्वच्छतालाई आयोगको मूल आधार मानेर कार्य सम्पादन भइरहेको उल्लेख गरे।
प्रभातफेरी कार्यक्रममा आयोगका कर्मचारीका साथै विभिन्न सम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। आयोगले हीरक जयन्ती वर्षका लागि ‘लोकसेवा आयोगको प्रतिबद्धता, प्रतिस्पर्धात्मक छनोटको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ। सोही नारालाई केन्द्रमा राखेर वर्षभर विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। नेपालको अन्तरिम शासन विधान, २००७ मा गरिएको संवैधानिक व्यवस्थाअनुसार विसं २००८ असार १ गते पब्लिक सर्भिस कमिसनको स्थापना भएको थियो। स्थापना दिवसको अवसरमा आयोगले विसं २०८२ असार १ गतेदेखि २०८३ असार १ गतेसम्मको अवधिलाई हीरक जयन्ती वर्षका रूपमा मनाउँदै विविध कार्यक्रम सञ्चालन गरिरहेको छ।