घोराही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। दाङको घोराहीस्थित उद्योग वाणिज्य संघको हलमा भएको प्रादेशिक भेला तथा निर्वाचनबाट घिमिरे नेतृत्वमा चुनिएका हुन्।
रूपन्देहीका घिमिरे यसअघि रास्वपा लुम्बिनीको प्रदेश कोषाध्यक्ष हुँदै उपसभापति बनिसकेका नेता हुन्। नयाँ नेतृत्वका लागि शनिबार ६ जना प्रतिस्पर्धीबीच भिडन्त भएको थियो। रास्वपाको विधानअनुसार पहिलो चरणको मतदानबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि आइतबार दोस्रो चरणको निर्वाचन गर्ने तयारी गरिएको थियो।
शनिबार बेलुकी आएको मतपरिणाम अनुसार मुख्य ६ प्रतिस्पर्धीमध्ये शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गरेका थिए भने दोस्रो स्थानमा रहेका रूपन्देहीकै गोपाल घिमिरेले ८७ मत पाएका थिए। विधानअनुसार आइतबार यी दुई जनाबीच दोस्रो चरणको मतदान हुनुपर्ने थियो। तर, केन्द्रीय संगठन विभाग सदस्य समेत रहेका गोपाल घिमिरेले आइतबार सबैभन्दा बढी मत पाएका शालिकरामलाई नै सभापति स्वीकार गर्दै आफ्नो उम्मेदवारी त्यागेपछि निर्वाचन गर्नु नपरेको निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए।
शनिबारको चुनावी प्रतिस्पर्धामा एमाले नेता विष्णु पौडेलसँग चुनाव लडेका रूपन्देहीका गणेश पौडेल ८४ मतसहित तेस्रो, प्रदेश प्रशिक्षण विभाग प्रमुख डा. राजकुमार सुवेदी ८० मतसहित चौथो, रास्वपाकी समानुपातिक सांसद मञ्जु भुसाल ७१ मतसहित पाँचौँ र भौतिक पूर्वाधार मन्त्रालयका सल्लाहकार अर्याल १९ मतसहित छैटौँ स्थानमा सीमित भएका थिए। कुल ५५२ मत खसेको मतदानमा बाँकी पदाधिकारी र सदस्यहरू पनि निर्वाचित भएका छन्।
निर्वाचनबाट समावेशी थारू सदस्यतर्फ गोविन्दबहादुर थारू (२८३ मत) र बिहारी चौधरी (२७५ मत) विजयी भए भने गयाप्रसाद थारू (२०५ मत) पराजित भए। मधेसी सदस्यतर्फ गौतमप्रसाद पाण्डे (२२३ मत) र सञ्जयकुमार गुप्ता (२१५ मत) निर्वाचित भएका छन्। सोही विधामा नौसिन खातिमा र खस आर्य सदस्यतर्फ ८ जना भने निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रगत सदस्यतर्फका अधिकांश पदमा भने मतदानमार्फत नेतृत्व चुनिएको छ।