काठमाडौँ। नेकपा (एमाले)का केन्द्रीय सचिव महेश बस्नेत ले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्ति र राज्य संयन्त्रको दुरुपयोगमार्फत पार्टी तथा अध्यक्ष केपी शर्मा ओली विरुद्ध भ्रम सिर्जना गरिएको दाबी गरेका छन्।
शुक्रबार नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै बस्नेतले साम्राज्यवादी शक्तिहरूको प्रभावमा युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासी समुदाय, विदेशमा रहेका नेपाली तथा सहरी क्षेत्रका जनतामा एमालेविरुद्ध भ्रम फैलाइएको आरोप लगाए। उनका अनुसार सामाजिक सञ्जालको एल्गोरिदम प्रयोग गरेर योजनाबद्ध रूपमा राजनीतिक धारणा प्रभावित पारिएको छ र त्यसले युवालाई गलत दिशामा डोर्याएको छ।
त्यस्तै, उनले मुलुकमा भएका केही राजनीतिक घटनाक्रमलाई ‘परिवर्तन’ र ‘क्रान्ति’का रूपमा व्याख्या गरिनु गलत भएको टिप्पणी गर्दै त्यसलाई ध्वंसात्मक गतिविधिको रूपमा प्रस्तुत गरे। यसैबीच, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल ले वर्तमान विश्व व्यवस्था वर्गीय संघर्षमा आधारित रहेको उल्लेख गर्दै एकातिर वित्तीय तथा दलाल पुँजीपति वर्ग र अर्कोतिर श्रमिक तथा किसान वर्गबीच संघर्ष चलिरहेको बताए। बादलले लोकतन्त्र, सुशासन र विकासजस्ता लोकप्रिय नाराहरूलाई एकाधिकारी पुँजीपतिहरूले जनतालाई प्रभावित पार्ने माध्यमका रूपमा प्रयोग गर्ने गरेको आरोप लगाए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै लोकप्रिय नाराका आधारमा सामाजिक सञ्जालको प्रयोग गरी जनतालाई भ्रमित गरिएको दाबी समेत गरे।