काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै माइतीघर मण्डलमा धर्ना र प्रदर्शन गरिरहेका नागरिकहरूसँग भेटवार्ता गरेका छन्।
बिहीबार दिउँसो करिब पौने ४ बजे माइतीघर पुगेका मन्त्री गुरुङले प्रदर्शनकारीहरूको गुनासा सुन्दै उनीहरूले उठाएका विषय सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। माइतीघरमा हाल जबरजस्ती करणीका पीडितहरू न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। त्यस्तै, चुरे संरक्षण, ‘सरकार, कोठा खाली छ’ लगायत विभिन्न सामाजिक तथा जनसरोकारका मुद्दा उठाएर पनि प्रदर्शन भइरहेको छ। भेटका क्रममा गृहमन्त्री गुरुङले प्रदर्शनकारीका मागप्रति सरकार गम्भीर रहेको बताउँदै सम्बन्धित निकायमार्फत आवश्यक पहल गरिने विश्वास दिलाएका छन्।