काठमाडौँ। गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः सोही पदमा फर्किने तयारी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन्।
स्रोतका अनुसार आज दिउँसो ३ बजे शपथ गराउने तयारी गरिएको छ। शपथका लागि राष्ट्रपति कार्यालयलाई समेत तयारी अवस्थामा रहन प्रधानमन्त्री कार्यालयबाट जानकारी गराइएको छ। सम्पत्ति विवरणबारे प्रश्न उठेपछि गत वैशाख ९ गते गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि गठन गरिएको छानबिन समितिले उनको सम्पत्तिमा कुनै ठूला कैफियत नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। तर सरकारका प्रवक्ताले भने अहिलेसम्म गृहमन्त्री नियुक्तिबारे औपचारिक निर्णय नभएको बताएका छन्।
छानबिन समितिका अनुसार गुरुङको सम्पत्ति विवरणमा केही जग्गासम्बन्धी विवरण उल्लेख भए पनि ठूलो अनियमितता नदेखिएको प्रतिवेदनमा उल्लेख छ। समितिले प्रणालीगत सुधारका सुझावसमेत दिएको छ। प्रतिवेदनअनुसार धनकुटामा १९ रोपनी १५ आना जग्गा मात्र गुरुङको नाममा रहेको देखिएको छ भने अन्य जग्गा परिवारका सदस्यहरूको नाममा रहेको उल्लेख छ। यसअघि उनले गोरखा, चितवन र अन्य स्थानमा जग्गा रहेको विवरण दिएका थिए।