काठमाडौँ। एसियाली राष्ट्र साउदी अरेबिया सन् २०२६ को फिफा विश्वकपमा आफ्नो सातौँ सहभागिता जनाउने तयारीमा छ। सन् १९९४ मा पहिलो पटक विश्वकप यात्रा सुरु गरेको साउदी अरेबियाले त्यसै संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। तर त्यसपछि सहभागी भएका पाँच संस्करणमा टोली समूह चरण पार गर्न असफल रहँदै आएको छ।
१९९४ को अमेरिकामा भएको विश्वकपमा नेदरल्याण्ड्ससँग २–१ ले पराजित भए पनि साउदी अरेबियाले मोरक्को र बेल्जियमलाई क्रमशः २–१ र १–० ले हराउँदै ऐतिहासिक सफलता हात पारेको थियो। अन्तिम १६ मा भने स्वीडेनसँग ३–१ ले पराजित हुँदै यात्रा टुंगिएको थियो। १९९८ को फ्रान्स विश्वकपमा दक्षिण अफ्रिकासँग बराबरी खेले पनि डेनमार्क र आयोजक फ्रान्ससँग हार भोग्दै टोली समूह चरणमै बाहिरिएको थियो। २००२ को विश्वकपमा पनि क्यामरुन, आयरल्याण्ड र जर्मनीसँग लगातार पराजित हुँदै साउदी अरेबिया निराश बनेको थियो।
२००६ मा युक्रेन र स्पेनसँग पराजित भए पनि ट्युनिसियासँग बराबरीमा रोकिएको साउदी अरेबिया, २०१० र २०१४ का संस्करणमा भने छनोट हुन असफल रह्यो। २०१८ को विश्वकपमा पुनः स्थान बनाएको साउदी अरेबियाले इजिप्टलाई हराए पनि रसिया र उरुग्वेसँग पराजय भोग्दै समूह चरणमै सीमित भयो। सन् २०२२ को विश्वकपमा अर्जेन्टिनालाई २–१ ले हराएर ठूलो सनसनी मच्चाएको साउदी अरेबिया त्यसपछि पोल्याण्ड र मेक्सिकोसँग पराजित भएको थियो। अब सन् २०२६ को विश्वकपमा समूह ‘एच’ मा रहेको साउदी अरेबियाले दुई पूर्व विश्व विजेता स्पेन र उरुग्वेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। साथै नयाँ सहभागी केप भेर्डेसँग पनि खेल्नेछ। इतिहास हेर्दा स्पेनले २०१० मा विश्वकप जितेको थियो भने उरुग्वेले १९३० र १९५० मा उपाधि जितेको थियो। यद्यपि साउदी अरेबियाले विगतमा अप्रत्यासित नतिजा निकाल्दै क्षमता देखाइसकेको भएकाले यसपटक पनि प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।