काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद रचना खतिवडाले सहिद परिवार तथा घाइतेहरूले उठाउँदै आएका न्यायका माग सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले मुलुकमा परिवर्तनका लागि ज्यान गुमाएका सहिदका परिवार र आन्दोलनका क्रममा घाइते भएकाहरूले अझै पनि न्यायका लागि आवाज उठाइरहनुपर्ने अवस्था रहेको बताइन्। पीडितको समस्या समाधान गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।खतिवडाले सहिद परिवारको पीडा र उनीहरूले खोजिरहेको न्यायबारे सरकारसँग प्रश्न गरिन्। परिवर्तनका लागि बलिदान दिएका व्यक्तिका परिवारले आफ्नो अधिकार र न्यायका लागि निरन्तर संघर्ष गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनले बताइन्।
उनले जेल तथा हिरासतमा रहेका जेनजी थुनुवाहरूको विषयमा समेत सरकारको ध्यानाकर्षण गराइन्। उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र रिहाइको व्यवस्था गर्न उनले सरकारसँग माग गरिन्।सहिद दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा मनाउन नहुनेमा पनि सांसद खतिवडाले जोड दिइन्। सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूका परिवारप्रतिको राज्यको दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो।पीडित तथा सहिद परिवारका मागलाई प्राथमिकतामा राखेर आवश्यक निर्णय लिन सरकारलाई आग्रह गर्दै खतिवडाले राज्यले उनीहरूको पीडाप्रति संवेदनशीलता देखाउनुपर्ने बताइन्।