काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला सभापतिमा प्रतिनिधिसभा सदस्य हरि पन्त निर्वाचित भएका छन्। पार्टीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने क्रममा पन्तले प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गर्दै नेतृत्वको जिम्मेवारी हात पारेका हुन्।
निर्वाचनमा पन्तले १६६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले ११८ मत पाए। यससँगै पन्त ४८ मतको अन्तरले विजयी बने। अधिवेशनमा सभापति पदका लागि भएको प्रतिस्पर्धा निकै चासोका साथ हेरिएको थियो। पन्त र कानु दुवै पक्षले आफ्नो पक्षमा मत आकर्षित गर्न सक्रियता देखाएका थिए। यस्तै, उपसभापतिमा दिलीपकुमार कुर्मी, सचिवमा सुदिशकुमार प्रजापति र सहसचिवमा कृष्णा पासवान निर्वाचित भएका छन्। उनीहरूले क्रमशः १६२, १६० र १४९ मत प्राप्त गरेका थिए। सदस्य पदमा तुलसा पौडेल अधिकारी सर्वाधिक १६० मतसहित निर्वाचित भइन्। साथै प्रियङ्का कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि सदस्यमा विजयी भएका छन्। अधिवेशनको नतिजासँगै पर्सामा रास्वपाको नयाँ जिल्ला कार्यसमिति गठन भएको छ। नवनिर्वाचित नेतृत्वले संगठन विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।