काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित गरी राजनीतिक दलहरूबीच संवाद र सहमतिको वातावरण सिर्जना गर्न सभामुखसँग आग्रह गरेको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद वर्षमान पुनले संसद् नियमित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने पक्षमा आफ्नो दल रहेको स्पष्ट पारे। तर, प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई सच्याउनुपर्ने, संसद्को अभिलेखबाट हटाउनुपर्ने तथा त्यसबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग यथावत रहेको उनले बताए। पुनका अनुसार समस्या समाधानका लागि सत्ता पक्षबाट विभिन्न प्रस्ताव र विकल्पहरू आए पनि हालसम्म ठोस सहमति बन्न सकेको छैन। त्यसैले संवादमार्फत निकास खोज्न केही समयका लागि बैठक स्थगित गर्नु उपयुक्त हुने उनको भनाइ थियो। उनले संसद् सञ्चालनमा सबै पक्षको प्रतिबद्धता रहेको उल्लेख गर्दै सभामुखले दलहरूबीच थप छलफल र समझदारीका लागि आवश्यक वातावरण बनाउन भूमिका खेल्नुपर्ने बताए।