काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गर्दैछन्।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बिहान ११ बजे शपथ ग्रहण गराउँदैछन्।
शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले जेठ २० गते एमालेका ४ र जसपाका १ गरी ५ जना नयाँ मन्त्रीहरु नियुक्त गरेका थिए । सोही दिन मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद पुनर्गठनका लागि सिफारिस गरेका थिए । तर प्रदेश प्रमुख रारा भ्रमणमा रहेको हुँदा उनी फर्किए पछि मात्रै शपथग्रहण कार्यक्रम राखिएको हो।
नयाँ मन्त्रीहरुमा एमालेबाट तुलसीप्रसाद चौधरी कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री, रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री र डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी तोकिएको छ।
त्यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। एमालेका खत्री यसअघि पनि मन्त्री थिए। उनीबाहेक एमालेबाट मन्त्री बनेका अन्य तीन जना नयाँ अनुहार हुन्।
नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व नै परिवर्तनको कुरा उठाउँदै आएको छ। उसले मुख्यमन्त्री नै परिवर्तन हुनु पर्ने माग गरिरहेको समयमा एमालेले आफ्नो पार्टीको तर्फबाट पुराना मन्त्रीलाई बोलाएर नयाँलाई अवसर प्रदान गरेको हो।