काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका केही कार्यकर्ताले कलैया उपमहानगरपालिकाको अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन्। उनीहरूले अधिवेशनबाट निर्वाचित नेतृत्वलाई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन्।
कार्यकर्ताहरूका अनुसार २०८३ जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मतसहित सभापतिमा निर्वाचित भएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएपछि उनको शपथग्रहणसमेत सम्पन्न भइसकेको अवस्थामा दुई दिनपछि पुनः उपनिर्वाचन गरिने सूचना जारी गरिएको उनीहरूको भनाइ छ। रनियाका समर्थक धिराज पटेलका अनुसार उपनिर्वाचनसम्बन्धी सूचना सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत सार्वजनिक गरिएको थियो। उक्त सूचनामा आधिकारिक पत्र, हस्ताक्षर वा जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख नभएको भन्दै उनले आपत्ति जनाएका छन्।
कार्यकर्ताहरूले ‘५० प्रतिशतभन्दा बढी मत प्राप्त नभएको’ आधार देखाएर पुनः निर्वाचन गराइएको दाबी गरिएको भए पनि निर्वाचनकै दिन यस्तो विषय किन उठाइएन भन्ने प्रश्न गरेका छन्। उनीहरूका अनुसार विजयी घोषणा भइसकेपछि, माला र अबिर लगाएर बधाईसमेत दिइसकेपछि पुनः निर्वाचन गराउनु उचित होइन। पटेलले उपनिर्वाचन सीमित प्रतिनिधिहरूबीच मात्र गराइएको र धेरै वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोप पनि लगाएका छन्। कार्यकर्ताहरूले पार्टी नेतृत्वसँग उपनिर्वाचन गरिनुको स्पष्ट आधार सार्वजनिक गर्न, प्रक्रियालाई पारदर्शी बनाउन तथा आवश्यक परे निष्पक्ष ढंगले पुनः निर्णय प्रक्रिया अघि बढाउन माग गरेका छन्। उनीहरूको भनाइमा परिवर्तनको अपेक्षासहित पार्टीमा आबद्ध भएका कार्यकर्ताहरू पछिल्लो घटनाक्रमबाट असन्तुष्ट बनेका छन्।