काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले आफ्नो पदबाट बिदा हुने विषयमा हालसम्म कुनै आधिकारिक जानकारी नआएको स्पष्ट पारेकी छन् ।
आइतबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीहरूसँगको छलफल कार्यक्रममा मन्त्री मेहेताले मन्त्रालयका कामकारबाहीलाई अझ प्रभावकारी बनाउन नियमित संवाद र सुझाव आदानप्रदान गर्ने योजना रहेको बताइन् । उनले अब प्रत्येक १५ दिन वा एक महिनाको अन्तरालमा सञ्चारकर्मीसँग निरन्तर छलफल गरिने जानकारी दिइन् । मन्त्री मेहेताले भनिन्, “हामीले यस्तो छलफल पहिले नै गर्नुपर्ने थियो, तर सरकारको १०० बुँदे कार्यक्रम कार्यान्वयनमा व्यस्त हुँदा समय मिलेन। अब भने नियमित रूपमा सुझाव लिँदै अघि बढ्छौँ।
कार्यक्रममा सञ्चारकर्मीहरूले मन्त्रालयका कामकारबाही, स्वास्थ्य सेवा, खाद्य स्वच्छता तथा स्वास्थ्य बीमा जस्ता विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए । मन्त्री मेहेताले उठाइएका सुझाव र आलोचनालाई सकारात्मक रूपमा लिँदै आवश्यक सुधार गरिने प्रतिबद्धता जनाइन् । पत्रकारहरूले मन्त्री पदबाट बिदा हुने चर्चाबारे प्रश्न गर्दा उनले स्पष्ट रूपमा भनिन्, “यस विषयमा मलाई कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन। सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाले स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा रहेको बताए । उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमका लागि बजेट उल्लेख्य रूपमा वृद्धि गरिएको जानकारी दिँदै यसले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।