टीकापुर । प्रतिनिधिसभा सभामुख डोल प्रसाद (डीपी) अर्यालले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित प्रसिद्ध पर्यटकीय स्थल टीकापुर पार्कको अवलोकन गरेका छन्। सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापनमा आयोजना भइरहेको अन्तर व्यवस्थापिका मञ्चको सम्मेलनमा सहभागी हुन टीकापुर पुगेका संसदीय टोलीले पार्कको अवलोकन गरेको हो।
पार्क अवलोकनका क्रममा सभामुख अर्यालसँगै सङ्घीय संसद् र सातै प्रदेशका उच्च पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। टोलीमा राष्ट्रिय सभाका माननीय अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, कोशी प्रदेश सभाका सभामुख तथा उपसभामुख, र गण्डकी प्रदेश सभाका सभामुख तथा उपसभामुखको समेत सहभागित रहेको थियो ।
यसैगरी, कर्णाली प्रदेश सभाका सभामुख तथा उपसभामुख, सुदूरपश्चिम प्रदेश सभाका सभामुख तथा उपसभामुख एवं बागमती प्रदेश सभाकी उपसभामुखको पनि समस्टिगत उपस्थिति रहेको थियो। अवलोकन टोलीमा संसदीय नेतृत्वसँगै प्रशासनिक नेतृत्वको समेत बलियो उपस्थिति थियो, जसमा प्रतिनिधि सभाका महासचिव, सचिव, राष्ट्रिय सभाका सचिव, संसद् सचिवालयका सचिव तथा विभिन्न प्रदेश सभाका सचिवहरूको सहभागिता रहेको थियो।
अन्तर व्यवस्थापिका मञ्चको यो भेलाले सङ्घीय संसद् र प्रदेश सभाबिचको समन्वय, सहकार्य र अनुभव आदानप्रदानमा टेवा पु¥याउने विश्वास लिइएको छ। सोही अवसरमा भएको यस अवलोकन भ्रमणले टीकापुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने स्थानीय सरोकारवालाहरूले अपेक्षा गरेका छन्।
