काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्।
शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम भएको बताए। उनले भने, साहित्य सिर्जना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम हो। यसले समाज, जनजीवन, लोकतान्त्रिक मूल्य–मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान दिन्छ। साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने क्षमता राख्छ।
राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ पुस्ताले उनलाई केवल इतिहासका कविका रूपमा मात्र नभई चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्नुपर्ने बताए। उनले भने, “आजको नयाँ पुस्ताले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका कविका रूपमा मात्र होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्न आवश्यक छ। उहाँ नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिने विशिष्ट साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो।” राष्ट्रपति पौडेलले तत्कालीन कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि सिद्धिचरण श्रेष्ठले साहित्यका माध्यमबाट स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश प्रवाह गरेको उल्लेख गरे।
उनका अनुसार, “चेतनापूर्ण साहित्यिक अभिव्यक्ति र निर्भीक विचारका कारण उहाँले लामो समय कारावासको सजाय भोग्नुपरेको थियो। पिताको काजक्रियामा सहभागी हुन नपाएको पीडादायी घटना उहाँको जीवन संघर्ष, त्याग र साहित्यप्रतिको निष्ठाको उदाहरण हो।” राष्ट्रपतिले सिद्धिचरणका कवितामा जन्मभूमिप्रतिको गहिरो प्रेम, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता स्पष्ट रूपमा झल्किने बताए। विशेषगरी ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अमर बनाएको उनको भनाइ थियो। कार्यक्रममा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरिएको थियो। राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा युगकवि सिद्धिचरण श्रेष्ठको योगदान सदैव स्मरणीय रहने विश्वास व्यक्त गरे।