काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को पार्टी सदस्यता नवीकरणलाई अनावश्यक रूपमा हार–जितको विषय नबनाउन आग्रह गरेका छन्।
काठमाडौँमा आयोजित पार्टी कार्यक्रममा बोल्दै ओलीले भण्डारी वि.सं. २०३७ सालदेखि नै एमालेको सदस्य रहेको उल्लेख गर्दै अहिले भएको प्रक्रिया सामान्य सदस्यता नवीकरण मात्रै भएको बताए। उनले भण्डारीले केन्द्रीय कमिटीमा आवेदन दिएपछि पार्टीले सदस्यता नवीकरण गरेको स्पष्ट पार्दै यसलाई कसैको विजय वा पराजयका रूपमा व्याख्या गर्नु उचित नहुने धारणा राखे। ओलीले केही व्यक्तिले सदस्यता नवीकरणलाई लिएर आफू विजयी भएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गर्दै पार्टीभित्र अनावश्यक विवाद सिर्जना नगर्न आग्रह गरे। उनले नेता तथा कार्यकर्तालाई साना विषयमा अल्झिनुभन्दा संगठन बलियो बनाउने, विचारमा एकता कायम गर्ने र पार्टीको विधि तथा अनुशासन पालना गर्दै अघि बढ्न निर्देशन पनि दिए।