काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली जनतालाई हेप्ने काम गरेको आरोप लगाएका छन्।
उनले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले असत्य र राष्ट्रघाती अभिव्यक्ति दिएको दाबी गर्दै त्यसप्रति आपत्ति जनाएका हुन्।
ओलीले नेपालले कुनै पनि हिसाबले भारतको एक इन्च पनि जमिन नमिचेको स्पष्ट पार्दै प्रधानमन्त्रीले देशद्रोही कुरा गरेको बताएका छन्। ‘प्रधानमन्त्रीले देशद्रोही कुरा गर्दा कतिले समर्थन गरेको देख्दा अचम्म लागेको छ। सीमाबारे दुई देशको विषयमा अर्को देशलाई तान्ने कुरा कूटनीतिक हुँदैन। संसदको रोस्ट्रमबाट असत्य, झुट र राष्ट्रहित विपरीतका कुरा भयो,’ ओलीले भने।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रश्न पनि उठाए। ‘नेपालको विपक्षमा बोल्ने काम भयो, त्यस दिन सदन गएर कसको हितमा बोलियो?’ भन्दै ओलीले आलोचना गरे।
ओलीले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै ‘नेपाल तपाईंको घरको सम्पत्ति होइन’ भन्दै टिप्पणी गरेका छन्। उनले भने, ‘हाम्रा छिमेकीसँगका विषय दुईपक्षीय रूपमा समाधान गरिन्छ, त्यसमा तेस्रो पक्षलाई सहभागी गराइँदैन। नेपाल तपाईंको घरको सम्पत्ति होइन, तपाईं जन्मिनुभन्दा धेरै अगाडिदेखिको देश हो।’