काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन् ।
बजेटको अन्तिम तयारी चलिरहेका बेला संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनमा मन्त्रीहरूले राजीनामा बुझाइरहेका छन् ।
एमालेको तर्फबाट मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीलाई राजीनामा दिन भनिएको र राजीनामा आउनेक्रम रहेको मुख्यमन्त्री आचार्यले पुष्टि गरेका छन् ।
मुख्यमन्त्री आचार्यले सरकारमा नयाँ अनुहारलाई अवसर दिन मन्त्री परिवर्तनको प्रक्रिया अघि बढाइएको बताए । यसैबीच, नेपाली कांग्रेसले पूर्वसहमतिअनुसार नेतृत्वसहित सरकार पुनर्गठन हुनुपर्ने अडान राख्दै आएको छ ।
जेठको पहिलो सातामै मन्त्री हेरफेरको चर्चा भए पनि कांग्रेसले मुख्यमन्त्रीसहित समग्र सरकार पुनर्गठनको पक्षमा धारणा राखेपछि प्रक्रिया केही समय रोकिएको थियो ।